तिहार (दीपावली / यमपञ्चक)

तिहार (दीपावली / यमपञ्चक)

Oct 29, 2024

तिहारलाई दीपावली पनि भनिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल प्रतिपदासम्म तिहार मनाइन्छ । यी पाँच दिनलाई यमपञ्चकसमेत भनिन्छ । यस पर्वमा राती उज्यालो बनाउनका लागि घरभित्र र बाहिर दिपहरू प्रज्वलन गरिन्छ। यसलाई नेवारहरूमा स्वान्ति र मधेसीहरूमा दीपावली भनेर चिनिन्छ । तिहार नेपालमा सबैभन्दा रंगीन, उज्यालोको पर्व र मनमोहक उत्सवहरू मध्ये एक हो।

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन्।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ । तर काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

काँक काँक गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश वोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा वाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र माशंजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो सनातन सस्कारमा टेक्ने माटो देखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि वोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।

काग तिहारको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता छ । 

कुकुर तिहार

अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।

महाभारतमा, जब युधिष्ठिर स्वर्गको द्वार (स्वर्ग) मा पुग्छन्, इन्द्रले उनलाई प्रवेश गर्न अनुमति दिन्छन् तर साथमा आएको कुकुरलाई प्रवेश गर्न अस्वीकार गर्छन्। युधिष्ठिर, आफ्नो वफादार साथीलाई त्याग्न चाहँदैनन्, कुकुर बिना स्वर्ग प्रवेश गर्न अस्वीकार गर्छन्। युधिष्ठिरलाई नछोड्नेहरूप्रतिको अटल वफादारीबाट प्रभावित भएर इन्द्रले अन्ततः कुकुरलाई युधिष्ठिरसँग स्वर्गमा प्रवेश गर्न अनुमति दिए।

कुकुर हिन्दू देवता भैरवको वहन वा पर्वत पनि हो ।

गाईतिहार र लक्ष्मी पूजा

गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा "तमसोमा ज्योतिर्गमय" अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।

हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा 

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन्। भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो। संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन्।

भाइटीका

भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ।

टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।

हिन्दू धर्ममा टीकाको धेरै महत्त्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषत: रातो वा पहेलो रङ्गका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो। सात रङ्गका यी टीकालाई सप्तरङ्गी भनिन्छ। सतरङ्गी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रङ्ग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रङ्गको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रङ्ग चामल पिनेर र कालो रङ्ग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ।

भाइटीका भनिने तिहारको अन्तिम दिन दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई सम्मान गर्न समर्पित छ। दिदीबहिनीले दाजुभाइको निधारमा टीका लगाएर दीर्घायुको कामना गर्छन् भने दाजुभाइले माया र सुरक्षाको प्रतीकको रूपमा उपहार दिन्छन् । भाइटीका तिहारको मुख्य विशेषता हो, जहाँ दिदीबहिनीहरूले आफ्ना दाजुभाइको लागि बहुरंगी टीका लगाइ र आशीर्वाद दिने अनुष्ठान गर्छन्। यसले भाइबहिनीहरू बीचको सम्बन्धलाई बलियो बनाउँछ र एकअर्काको हेरचाह व्यक्त गर्दछ। दिदीबहिनीले आफ्ना दाजुभाइको निधारमा लगाइने टीकामा पाँचवटा रङहरू हुन्छन्, जसमा पाँच तत्वहरू- पृथ्वी, जल, अग्नि, आकाश र वायुको प्रतीक हुन्छ। यसले दाजुभाइलाई हानिबाट जोगाउने र उनीहरूको कल्याण सुनिश्चित गर्ने विश्वास गरिन्छ।

यमपञ्चक सङ्ग जोडिएका रोचक तथ्यहरू

  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ ।

  • हिरण्यकशिपुको वध यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ ।

  • लक्ष्मी र धन्वन्तरी प्रकट यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ।

  • नेपाल संवत यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।

देउसी भैलो

अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा "देव श्रीराम" (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेकाथिए । देव श्रीरामबाट विकृत हुँदै "देउसिरी राम, देउसिरे ,देउसी" भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्। देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ । बताइन्छ एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए । यस पुण्यको प्रतापले स्वर्गादि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए। त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।

बाली सप्त चिरजीवीहरू मध्ये एक थिए, विष्णुका एक प्रसिद्ध भक्त, एक परोपकारी र एक महान योद्धा। विरोचनका पुत्र, प्रह्लादका नाति, हिरण्यकशिपुका पनाति थिए।

जब विष्णु बलि राजा संग तेस्रो पाउ राख्ने ठाउँ मागे तब राजा बलि अलिकति हिच्किचाए। तेसैले लोक ले "देउ सिर रे" भनेर उनलाई आफ्नु सिरमा पाउ राख्न लै अनुरोध गरेको किम्बदन्ती पनि छ   तेसैले आजकल "देउसीरे" भन्ने पनि चलन चलेको छ।

Enjoy this post?

Buy Binary and Beyond a book

More from Binary and Beyond